काठमाडौँ महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २ हजार ४२१ जना सडक मानवलाई उद्धार गरेको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौँ सहर बनाउने अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको जानकारी गराइएको हो ।

मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

प्रवक्ता मानन्धरकाअनुसार ती मध्ये १ हजार ५ सय ७१ जना पुरुष र ८५० जना महिला रहेका छन् । त्यसैगरी उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । हाल आश्रय लिएर भने ३४४ जना रहेको पनि प्रवक्ता मानन्धरले जानकारी दिए । त्यस्तै १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनः स्थापना गरिएको छ ।

प्रवक्ता मानन्धरले भने ‘२०७४ साल मङ्सिर १ गतेदेखि २०८३ साल जेठ २१ गतेसम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला हुनुहुन्छ । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक, ८ जना बालिका गरी १० जना हुनुहुन्छ । ६ वर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना हुनुहुन्छ । १८ वर्षदेखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ जना महिला गरी ६५३ जना वयस्क रहनु भएको छ । ४० वर्षदेखि ५९ वर्षसम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ । ६० वर्षमाथिका ५६० जना पुरुष र २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ । उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनः स्थापना गरिएको छ । उद्धार पछि आश्रममा नै रहेका बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ । अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित रहनु भएको छ ।’

प्रवक्ता मानन्धरले उद्धार गरिएकाहरूमध्ये केही भने आय आर्जनका लागि माग्ने कामलाई पेसा बनाएर पनि सडकमा आउने गरेको पाइएको बताए । काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७६ साल मङ्सिर २९ गते सडक मानवमुक्त काठमाडौँ सहर बनाउने अभियान अघि बढाएको थियो । सोही अभियानलाई निरन्तर रूपमा अघि बढाइएको पनि प्रवक्ता मानन्धरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =