आलेख

बागमती किनारबाट होल्डिङ सेन्टरसम्म: सुकुम्बासीमा सुरक्षित जीवनको नयाँ आशा

कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ । सधैं यस्तै त नहोला नि !”

वर्षायाम सुरु भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो तर आफ्नो स्वामित्व नभएको । सबैको नजरमा परेको तर देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने ठाउँ थियो त्यो । पानी, बिजुली, बाटोघाटो सबै अनौपचारिक ।

ढल र फोहरमैला सिधैँ नदीमा मिसिंदा त्यसको दुर्घन्धले आफूहरुलाई मात्र नभई उपत्यकावासी नै पिरोलेको थियो । अनेक फोहरमैलासहित प्रदूषित पानी बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कति थरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो हुने थिएन ।

अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ । सुकुमवासीबीच सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कति जोखिममा थियो भनेर । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा चार सय ९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३.५ प्रतिशतमा ग्याष्ट्रिक र सात प्रतिशतमा मानसिक समस्या र ४.५ प्रतिशतमा श्वास प्रश्वाससम्बन्धी देखिएको थियो ।

सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ । चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये ३८.५ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो । यसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो । यसका अधिकांश कारण खोला किनारको जोखिमपूर्ण जीवन नै थियो ।

प्रदूषित खानेपानी, फोहोर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीहरुमा लामखुुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वभाविकै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला बताउँछन् । सुकुम्बासी राखिएका छ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका डा बाँस्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ । अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिइरहेको छ ।

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो चिज देख्न र पढ्न गाह्रो छ । उनलाई लागेको छ, अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यति बेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उनी त्रिपुरेश्वस्थित आँखा अस्पताल गए । त्यहाँका चिकित्सकहरुले तिलगङ्गा आँखा अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन् । अब त्यतै गएर उपचार गराउने सुरमा छन् ।

थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने थियो । अहिले सबैलाई अन्धकारबाट उज्यालोको खोजीमा बसे जस्तो भएको छ । ‘‘सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ने भनेकै छ, किन चिन्ता गर्नु ?’’, उनी भन्छन् । डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि होल्डिङ सेन्टरमै भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

करिब २० वर्ष थापाथलीको नदी किनारामा बिताएकी ५० वर्षे पुनम मगरलाई केही समयदेखि उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको पनि उनले बताइन् । ‘‘धेरै थरीको परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उनी भन्छिन् । त्यहाँबाट अस्पताल पुगेपछि भने महङ्गो औषधिहरु आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाइन् । अर्का सुकुम्बासी खिमबहादुर मगर अस्पताल पुगेपिछि औषिधि सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउँछन् ।

होल्डिङ सेन्टरका सुकुम्बासीहरुमध्ये कतिपय दीर्घरोगी छन् । उनीहरुको नियमित स्वाथ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा भएको थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरुले नियमित स्वाथ्य परीक्षण र परामर्श मात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । होल्डिङ सेन्टरमा भेटिएकी सुवासदेवी पासवान आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटो समेत प्राप्त भएको बताइन् ।

प्रधानमन्त्रीको कार्यालयकी स्वकीय सचिवालयको उपसचिव प्रकृति ढकाल भन्छिन्, ‘‘सुकुमवासीसँग गरिएको परामर्श र स्वास्थ परीक्षणबाट रोगमात्र पत्ता लागेको छैन, साथमा रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श निरन्तर भइरहेको छ ।’’ उनले क्यान्सर, निमोनिया जस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको पनि जानकारी दिइन् । यस्ता जटिलता अन्य सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उनले बताइन् ।

होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदी किनारको दैनिकीले शारीरिक मात्र होइन, मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगतमा अव्यवस्थित र असुरक्षित बसाइले दुवै थरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् । दैनिकी बितिरहेको ठाउँ एक्कासी छोडनुपर्दाको केहीले दुःख व्यक्त गरे पनि त्योभन्दा धेरै असुरक्षित बसोबासका कारण थुपै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरुसँग उनीहरुले गरेका अभिव्यक्तिले त्यसको प्रमाण दिएको छ ।

सुकुमवासीहरुमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छ वटै होल्डिङ सेन्टरमा विशेषज्ञ टोलीसहित थुपै पटक पुगे, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् डा सुलभराज उप्रेती । रासससँग कुरा गर्दै उनी भन्छन्, ‘‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई नै जीवन ठानेर बसेकाहरुलाई केही झट्का अवश्य लागेको छ । तर त्यस्तो बसोबासका कारण थुपै मनोवैज्ञानिक जटिलता भएकाहरु पनि उल्लेख्य देखिए ।’’

मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्यता सम्मिलित टोलीले छ वटै शिविरका गरी छ सयभन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श गरेको थियो । ‘‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या उल्लेख्य थियो’’, उनी बताउँछन् ।

कुराकानीकोबाट आएको निश्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पनि पाइएको जानकारी डा उप्रेती दिन्छन् । परामर्श र सहायतापछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किन समेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उनीहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता क्रमशः कम हुँदै गएको पाइएको छ ।

मनो–सामाजिकविद्हरुको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि तयार गरिएको प्रतिवेदनमा विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२.८ प्रतिशत रहेछन् । ती मध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४.६ प्रतिशत रहेको उल्लेख छ । मानसिक समस्याकै कारण ३.३ प्रतिशत आत्महत्याबाट र ३.३ प्रतिशत मदिराजन्य समस्याबाट प्रतिशतले जीवन गुमाएका रहेछन् । त्यसरी खोला छेउ बस्दा कतिबेला के हुने हो भन्ने शान्ति त जीवनमा छँदै थिएन । करिब १२ प्रतिशतले आत्महत्याको सोच समेत बनाउन पुगेका रहेछन् । त्यस्तै सात प्रतिशतमा विशेष खालकै मनोरोग सेवा आवश्यक पर्ने अवस्था रहेको जनाइएको छ ।

प्रतिवेदनका आधारमा चिकित्सकको टोलीले छ वटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिदै आएको छ । खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरुले महशुस गरेका छन् । सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हेरेकसँगको कुराकानी, समस्या पहिचान र त्यसको विश्लेषणका आधारमा वर्षौंदेखि नदी किनारमा जोखिमपूर्ण जीवन बिताउने उनीहरुलाई अब जीवनले नयाँ मोड लिने आशा दह्रो गरी पलाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =