सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ ।

छानबिन समितिका संयोजक तथा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिएका छन् ।

‘हाम्रो तर्फबाट काम सकेर प्रतिवेदन बुझाएका छौँ । अब बाँकी प्रक्रिया सरकारले अघि बढाउँछ,’ भण्डारीले भने ।

समितिले बुझाएको प्रतिवेदन ४५ पृष्ठको रहेको जनाइएको छ । छानबिनका क्रममा गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकाय र पक्षसँग जानकारी संकलन गरिएको थियो । समितिले उनको सम्पत्ति विवरणसमेत अध्ययन गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्याैपाने सदस्य थिए ।

व्यवसायी दीपक भट्टलाई १९ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा काठमाडौंबाट पक्राउ गरिएपछि गुरुङ विवादमा तानिएका थिए । प्रहरी हिरासतमा रहेका भट्टसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङमाथि प्रश्न उठ्न थालेको थियो ।

त्यसपछि सम्पत्ति विवरण सार्वजनिक गर्दा केही सेयर लुकाएको, विवादास्पद व्यवसायीसँग सम्बन्धित कम्पनीमा सेयर रहेको लगायतका आरोप सार्वजनिक भएका थिए ।

विवाद बढेपछि गुरुङले ९ वैशाखमा प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका थिए । राजीनामापछि सामाजिक सञ्जालमार्फत उनले आफूमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए ।

गुरुङले राजीनामा दिएको करिब २० दिनपछि सरकारले छानबिन समिति गठन गरेको थियो । उनी पदबाट बाहिरिएपछि गृह मन्त्रालय प्रधानमन्त्री शाहकै प्रत्यक्ष मातहतमा सञ्चालन हुँदै आएको छ ।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भइसकेको छैन । प्रतिवेदनले गुरुङलाई निर्दोष ठहर गरे पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्कन सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =