वडाध्यक्षसहित ६ जना जुवाको खालबाट पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिममा वडाध्यक्षसहित ६ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका–५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी–२ का ४० वर्षीय मनबहादुर बोहोरा रहेका छन् ।
त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट १ लाख ६७ हजार १०५ रुपैयाँ नगद तथा एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ४ बजेसम्म फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाएको हो ।
कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण सेवा प्रवाह प्रभावित भएको भन्दै यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिए ।
उनका अनुसार सेवाप्रवाहलाई प्रभावकारी, मर्यादित र अनुशासित बनाउन यो निर्णय गरिएको हो ।
गाउँपालिकाले कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न आग्रह गर्दै आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको जनाएको छ ।








