निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले लिएको आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रको सक्रिय सहभागिताविना पूरा हुन नसक्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले ऊर्जा क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्ने अवस्थामा पुगेको उल्लेख गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र विदेशी लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताए ।
उनले २०५७ सालसम्म नेपालको कुल विद्युत उत्पादन क्षमता २५२ मेगावाट मात्रै रहेको स्मरण गर्दै हाल उत्पादन क्षमता झण्डै ४ हजार ३०० मेगावाट पुगेको र त्यसमध्ये अधिकांश निजी क्षेत्रको लगानीबाट उत्पादन भएको बताए ।
‘आजको दिनमा झण्डै ४,२००–४,३०० मेगावाट उत्पादन भएको छ । त्यसमध्ये झण्डै ३,५००–३,६०० मेगावाट नेपालका निजी क्षेत्र र नेपाली जनताले लगानी गरेका छन्,’ कार्कीले भने, ‘यदि निजी क्षेत्रलाई सहभागी गराउने नीति नआएको भए नेपालले आज २१ घण्टाभन्दा बढी लोडसेडिङ भोग्नुपर्ने अवस्था आउँथ्यो ।’
उनले सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा भए देशमा ठूलो मात्रामा लगानी भित्रिनुका साथै करिब १० लाख रोजगारी सिर्जना हुने बताए ।
कार्कीका अनुसार हाल ५ हजार ७९२ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणाधीन छन् भने २ हजार ८६२ मेगावाट क्षमताका आयोजनाले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको चरणमा प्रवेश गरिसकेका छन् । यस्तै २५ हजार ७४३ मेगावाट क्षमताका ३८० आयोजना विभिन्न चरणमा रहेका छन् भने १६ हजार ११४ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।
पीपीए प्रक्रियालाई तीव्र बनाउन सरकारसँग आग्रह गर्दै उनले हालै ५ हजार मेगावाट क्षमताका आयोजनाका लागि पीपीए प्रक्रिया अघि बढाउन आह्वान गरिएको उल्लेख गरे ।
‘१६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएको पर्खाइमा छन्,’ उनले भने, ‘हालै ५ हजार मेगावाटका आयोजनाका लागि पीपीए गर्न आह्वान गरिएको छ, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके ऊर्जा क्षेत्रले थप गति लिन्छ ।’
कार्कीले हालसम्म ३४ हजार ३७७ मेगावाट क्षमताका आयोजनाका लागि करिब ९०० परियोजनाले अनुमति प्राप्त गरिसकेको जानकारी दिए । उनका अनुसार ऊर्जा क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको मात्रै ७ देखि ८ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ ।
ऊर्जा क्षेत्रमा नेपाली जनताको सहभागिता उल्लेखनीय रहेको भन्दै उनले संस्थापक सेयरधनीको संख्या ६ लाख नाघेको तथा पुँजी बजारमार्फत झण्डै १ करोड नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा आबद्ध रहेको बताए ।
विद्युत उत्पादन र प्रयोग बढ्दै जाँदा मुलुकले वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त गरिरहेको उल्लेख गर्दै कार्कीले पेट्रोलियम पदार्थको आयातमा समेत कमी आउन थालेको दाबी गरे ।
‘गत वर्ष झण्डै ३ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो,’ उनले भने, ‘यो वर्ष उक्त रकम घटेर २ खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ । यसको मुख्य कारण विद्युतको बढ्दो प्रयोग हो ।’
ऊर्जा क्षेत्रले विद्युत उत्पादनसँगै पूर्वाधार विकासमा पनि महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ । उनका अनुसार निजी क्षेत्रले हालसम्म ३ हजार ७०० किलोमिटर सडक, ४५० किलोमिटर सुरुङ, १६० स्वास्थ्य केन्द्र, १०५ विद्यालय, २७० पुल तथा बेलीब्रिज, १०७ खानेपानी आयोजना र ५५ सिँचाइ आयोजना निर्माण गरिसकेको छ ।
ऊर्जा विकास मार्गचित्र–२०८१ ले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य तय गरेको स्मरण गराउँदै कार्कीले उक्त लक्ष्य हासिल गर्न थप ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने बताए ।
उनले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले सन् २०३० सम्म १४ हजार मेगावाट र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै विद्युतीय सवारी, रेलमार्ग र ट्रलीबस विस्तारका लक्ष्यहरू पनि सकारात्मक रहेको बताए ।








