पद होइन क्षमता महत्वपूर्ण, लोकतन्त्रले सबैका लागि सम्भावनाका ढोका खोल्यो: अर्याल

काठमाडौं । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्यालले लोकतन्त्र र गणतन्त्रले सबै नागरिकका लागि सम्भावनाका ढोका खोलेको उल्लेख गरे । उनले वर्तमान व्यवस्थामा क्षमता र योग्यताका आधारमा अघि बढ्ने अवसर सबैलाई प्राप्त भएको बताए ।

केही समयअघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै उनले लोकतान्त्रिक व्यवस्थाले सामाजिक तथा प्रशासनिक उन्नतिको मार्ग खुला गरेको बताए ।

अर्यालले कसैलाई पनि बिना आधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राखे । गल्ती वा कमजोरी देखिए प्रमाणका आधारमा कारबाही गर्नुपर्ने भए पनि आधारहीन आरोप लगाएर कसैको प्रतिष्ठामा आँच पुर्‍याउनु उचित नहुने उनको भनाइ थियो ।

उनले गृह प्रशासनले पनि प्रमाणका आधारमा मात्रै आलोचना वा कारबाही अघि बढाउने गरेको दाबी गरे ।

‘हामीले यो लोकतन्त्रमा कसैलाई पनि धेरै हाइरार्कीमा बस्नुपर्ने अवस्था छैन । हामीले हाइरार्कीभन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौं र त्यसले परिणाम दियो,’ अर्यालले भने, ‘कतिपय साथीहरू डेढ–दुई महिनाअघिसम्म छैटौँ तहका कर्मचारी हुनुहुन्थ्यो, अहिले सांसद मात्र होइन, मन्त्री पनि हुनुभएको छ । त्यसैले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोका खोलेको छ ।’

समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए ।

‘कसैले गल्ती गरेको छ भने प्रमाणका आधारमा कारबाही हुनुपर्छ । तर यत्तिकै दोषारोपण गरेर र अरूको मानमर्दन गर्दै अगाडि बढ्दा मुलुक बन्दैन,’ उनले भने, ‘प्रमाण नदेखिएसम्म सबैलाई सन्देहको लाभ दिनुपर्छ ।’

अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा मानमर्दन र आधारहीन आरोप लगाउने प्रवृत्ति क्रमशः घट्दै जाने विश्वास व्यक्त गरे । साथै, वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने अपेक्षा व्यक्त गर्दै राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =