रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका–१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।
रोकाले आज जिल्ला अस्पताल सल्लेमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।
सुत्केरी आमा तथा जुम्ल्याहा नवजात शिशुको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चिकित्सकको सिफारिसअनुसार रोकालाई प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सल्ले विमानस्थलबाट हेलिकप्टरमार्फत सुत्केरी आमा र जुम्ल्याहा शिशुलाई सुर्खेत लगिएको छ ।
समयमा हवाई उद्धारको व्यवस्था भएपछि आमा र शिशुको थप उपचार सहज भएको परिवारले जनाएको छ ।








