नेपाल-भारत सीमा विषयमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरितः काँग्रेस सांसद थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले नेपालले प्रधानमन्त्रीले दिएको नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले नेपालको छवि धुमिल भएको बताए । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरूसँगको नेपालको कूटनीतिमा समेत असर पार्ने बताए ।

उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्ति तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्ने उल्लेख गरे । सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद र जनतासमक्ष सार्वजनिक गर्न आग्रह गर्नुपर्ने अन्यथा राष्ट्रसँग क्षमायाचना गर्नुपर्ने बताए ।

राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई नरहेको उनको भनाई छ । उनले नेपाल–भारत सीमा तथा भू–राजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारणा जोड्ने प्रयास पनि चिन्ताजनक भएको बताए । नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको संवाद तथा स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्नेमा उनले जोड दिए ।

यस्ता संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा नरहेको उनको भनाई छ । यस्ता गतिविधिले नेपाल–भारत सम्बन्धमा अनावश्यक अविश्वास, भ्रम र तनाव उत्पन्न हुन सक्ने चेतावनी दिँदै उनले नेपाललाई कुनै पनि प्रकारको कूटनीतिक टकराव वा गतिरोधबाट लाभ नहुने बताए ।

उनले सरकारले संवेदनशील, संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अवलम्बन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री साहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादमा ईङ्ल्याण्ड (यूके) सँग पनि छलफल भइरहेको अभिव्यक्ति दिएका थिए ।

उनले भने ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियहित र छिमेकी राष्ट्रसँगको संवेदनशील विषयसँग जोडिएको अभिव्यक्ति अत्यन्तै जिम्मेवार, स्पष्ट र यथार्थमा आधारित हुनुपर्छ । यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनतासमक्ष प्रस्तुत गर्नुपर्छ । यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसंग क्षमायाचना गर्नुपर्छ । राष्ट्रियहितसंग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि छैन । त्यसभन्दा पनि चिन्ताको विषय के हो भने नेपाल भारतबीचको द्विपक्षीय प्रकृतिबीचको सीमा र भूराजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारण जोड्ने प्रयास भएको देखिन्छ, नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रियहित सँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्छ । यस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा छैन । नेपाल भारत सम्बन्धमा अनावश्यक अविश्वास, भ्रम र तनाव सिर्जना गर्न सक्छ । हामीले बुझ्नुपर्छ, नेपाललाई कुनै पनि प्रकारको नेपाल भारत कूटनीतिक टकराव वा गतिरोधबाट लाभ हुँदैन । त्यसैले सरकारले यस्तो विषयमा अत्यन्त संवेदनशील, संयमित, स्पष्ट र जिम्मेवारीपूर्ण कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ ।’

सांसद थापाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले झन् धेरै प्रश्न खडा गरेको पनि बताए । मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सुस्ता क्षेत्रको ‘क्रस होल्डिङ’ तथा सीमा सम्बन्धी जटिल अवस्थासँग सम्बन्धित रहेको उल्लेख गरेको थियो । सांसद थापाले ‘क्रस बोर्डर अकुपेसन’लाई एउटा राष्ट्रले अर्को राष्ट्रको भूमि अतिक्रमण गरेको भन्न नमिल्ने बताए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण संसद अवरोध भएको उल्लेख गर्दै संसद चलाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =