‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने राजनीतिक शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।
नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीमाथि हुँदै आएका आक्रमणहरू अहिले मुलुकविरुद्ध नै लक्षित हुन थालेको दाबी गरे ।
संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भट्टराईले त्यस्तो भनाइ अतिक्रमणकारीको जस्तो देखिएको टिप्पणी गरे । प्रधानमन्त्री बालेन्द्र साहले नेपाललाई अतिक्रमणकारी राष्ट्रका रूपमा चित्रण गरेको सन्देश दिएको उनको आरोप थियो ।
‘हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू निरन्तर भइरहेका छन् । अहिले त पार्टीमाथिको आक्रमणले मात्र नपुगेर केही पपुलिस्ट शक्तिहरू देशविरुद्ध नै उत्रिएका छन् । उनीहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने खालका अभिव्यक्ति दिइरहेका छन्,’ भट्टराईले भने ।
उनले थपे, ‘संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् ।’
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र उनको पक्राउलाई पनि पार्टीमाथिको हमला भएको बताए ।
उनका अनुसार अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका धारणा प्रस्तुत गरिनेछ । ‘अध्यक्ष ओलीलाई पक्राउ गरिएपछि संगठन विभागको कार्यक्रममा उहाँको यो पहिलो सम्बोधन हुनेछ । त्यसैले राष्ट्रिय राजनीतिको वर्तमान सन्दर्भमा एमालेका दृष्टिकोण सार्वजनिक गर्ने यो महत्वपूर्ण मञ्च बन्नेछ,’ उनले भने ।








