प्रधानमन्त्रीले सदनमा आएर प्रतिपक्षका प्रश्नको जवाफ दिनुपर्छ: आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसद्को अवरोध अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले राष्ट्रियताको विषयमा सत्ता र विपक्षबीच विभाजन हुन नहुने बताएकी छन् । उनले राष्ट्रिय हितका सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले तीन दिनदेखि संसद् बैठक अवरुद्ध हुँदा देशलाई नै नोक्सानी भइरहेको उल्लेख गरेकी छन् । बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल हुन नसक्दा विकास र समृद्धिको यात्रामा असर पर्ने उनको भनाइ छ ।
‘विपक्ष सधैं सही हुन्छ भन्ने पनि हुँदैन र सधैं गलत हुन्छ भन्ने पनि हुँदैन । तर जब राष्ट्रियताको कुरा आउँछ, सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु हुँदैन, हामी एकजुट हुनुपर्छ,’ उनले लेखेकी छन् ।
तामाङले संसद्को काम केवल हाजिर गर्ने र भत्ता बुझ्ने मात्र नभएको उल्लेख गर्दै बजेटमाथिको आवश्यक छलफल रोकिँदा देशले क्षति व्यहोर्नुपरेको बताएकी छन् ।
सभामुखले पटक–पटक बैठक सञ्चालनको प्रयास गरिरहे पनि अवरोधका कारण सदन अघि बढ्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्न नपाएको अनुभूति आफूलाई भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले लेखेकी छन्, ‘तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंका सन्तान हौं। अब तपाईंले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं । त्यसैले कृपया सदनमा आएर प्रतिपक्ष दलका सवालहरूको जवाफ दिनुहोस् र संसद् सञ्चालनको वातावरण बनाइदिनुहोस् ।’
उनले प्रधानमन्त्रीको उपस्थितिले जारी राजनीतिक गतिरोध अन्त्य भई संसद्ले आफ्नो नियमित कामकारबाही अघि बढाउन सक्ने विश्वास व्यक्त गरेकी छन् ।








