प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छः एमाले

काठमाडौं । विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै आवश्यक परे राजीनामा दिनुपर्ने माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषय राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको बताए ।

उनले उक्त अभिव्यक्ति भूलवश वा असावधानीका कारण आएको भए प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने र जनतासामु क्षमायाचना गर्नुपर्ने बताए ।

‘यदि यो भूलवश वा टङ्ग स्लिपका कारण भएको हो भने प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ र क्षमायाचना गर्नुपर्छ,’ ठगुन्नाले भने, ‘तर यदि नियतवश यस्तो अभिव्यक्ति दिइएको हो भने यो अत्यन्त गम्भीर विषय हो र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशभित्र अन्योल र आशंका पैदा भएको दाबी गर्दै विषयलाई थप लम्ब्याउनु भन्दा प्रधानमन्त्रीले स्पष्ट धारणा राखेर निकास दिनुपर्ने बताए ।

ठगुन्नाले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलको साझा अडान आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर संसद र जनतासामु स्पष्टता दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =