संसदको रेकर्डबाट प्रधानमन्त्रीको भनाइ हटाइयोस्ः नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई राष्ट्रिय चिन्ताको विषयको रूपमा लिनुपर्ने बताए ।
उनका अनुसार प्रधानमन्त्रीले राष्ट्रको अभिभावकको हैसियतमा जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा त्यसको विपरीत टिप्पणी आएको छ । ‘प्रधानमन्त्रीले बोल्नुभएको उक्त भनाइ संसदको रेकर्डबाट हटाइनुपर्छ,’ दुलालले भने, ‘उहाँले सदनमा आएर तथ्यसहित पुनः सम्बोधन गर्नुपर्छ ।’
उनले सीमा विवाद जस्तो संवेदनशील विषयलाई समाधान गर्न संसद, राजनीतिक दल र सरकारबीच उच्चस्तरीय छलफल आवश्यक रहेको बताए ।
मुख्य सचेतक दुलालले बजेट छलफल अवरुद्ध गर्ने कुनै उद्देश्य नभएको स्पष्ट पार्दै देशको सीमा सम्बन्धी विषय आर्थिक वर्षको बजेटभन्दा बढी संवेदनशील भएको टिप्पणी गरे ।
उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्न र समस्याको समाधानका लागि पहल गर्न पनि माग गरे ।








