व्यवसायिक वातावरण सुधारतर्फ बजेट सकारात्मक देखियोः निजी क्षेत्र

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले व्यवसायिक वातावरण सुधारतर्फ सकारात्मक संकेत दिएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । यद्यपि बजेट पूर्ण भने नभएको उनीहरूको धारणा छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई ‘सही दिशातर्फको प्रयास’ का रूपमा हेरेको बताए । उनले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने स्पष्ट पारे ।

श्रेष्ठका अनुसार भन्सारका तह ११ बाट ७ मा झार्ने, ३६० वस्तुमा अन्तःशुल्क हटाउने, २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको छ । यसले मध्यम वर्गको क्रयशक्ति बढाउने र बजार तथा उत्पादन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

उनले कर विवाद समाधानका लागि सहजीकरण, कम्पनी खारेजी प्रक्रिया सरल बनाउने, दोहोरो करमुक्ति सम्झौता विस्तार गर्ने तथा एन्जल इन्भेष्टमेन्ट, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई प्रोत्साहन गर्ने नीतिले लगानी वातावरण सुधार हुने बताए ।

‘देशले एउटा असाधारण घडीमा यो बजेट पाएको छ । यो बजेटले नयाँ आर्थिक दिशाको संकेत दिएको छ,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन, बरु यसले लगानी, उत्पादन र रोजगारी बढाउँछ कि बढाउँदैन भन्ने आधारमा हेर्छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि बजेटमा उद्योगमैत्री महत्वपूर्ण व्यवस्था समावेश भएको बताए । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर कटौती र ३६० वस्तुमा अन्तःशुल्क हटाइएकाले उत्पादन लागत घट्ने र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनको भनाइ छ ।

पाण्डेका अनुसार व्यक्तिगत आयकरको सीमा वृद्धि र उच्चतम कर दरमा गरिएको कटौतीले उपभोक्ताको क्रयशक्ति बढाउनेछ । अहिले उत्पादन क्षमता भए पनि बजारमा माग कमजोर रहेको भन्दै उनले समग्र माग बढाउने नीतिको आवश्यकता औंल्याए ।

‘उद्योगहरू उत्पादन गर्न तयार छन्, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, तर बजारमा माग कमजोर छ,’ पाण्डेले भने, ‘त्यसैले माग बढाउने नीति आवश्यक थियो ।’

उनले लगानी प्रवर्द्धन, व्यावसायिक पुनरुत्थान कर्जा, स्टार्टअप प्रवर्द्धन, भेन्चर क्यापिटल, वैकल्पिक विकास वित्त, पुँजी बजार सुधार तथा सूचना प्रविधि क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा अगाडि बढाउने प्रयासहरू स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =