रेन्ट–सिकिङ र सट्टेबाजीको प्रवृत्ति त्याग्न निजी क्षेत्रलाई भट्टको सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने (रेन्ट–सिकिङ) प्रवृत्ति त्याग्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगत तीन–चार दशकदेखि भइरहेको उदारीकरण र नीतिगत सुधारमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहे पनि केही प्रवृत्तिका कारण निजी क्षेत्र आलोचनाको केन्द्र बन्ने गरेको बताए ।
भट्टले निजी क्षेत्रले अनावश्यक रूपमा नीतिमा प्रभाव पार्न लबिङ गरेर रेन्ट–सिकिङ व्यवहारलाई प्रोत्साहन गर्नु नहुने धारणा राखे । उत्पादनशील लगानीभन्दा सट्टेबाजीमा केन्द्रित हुने प्रवृत्तिबाट पनि माथि उठ्नुपर्ने उनको भनाइ थियो ।
उनले सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि चर्चामा आएको ‘फिसिङ विथ डायनामाइट’ अवधारणाको उदाहरण दिँदै अल्पकालीन लाभका लागि दीर्घकालीन क्षति निम्त्याउने गतिविधिबाट निजी क्षेत्र र राज्य दुवै टाढा रहनुपर्ने बताए ।
‘निजी क्षेत्र नेपालको अर्थतन्त्रमा इमानदारीपूर्वक योगदान गरिरहेको क्षेत्र हो । तर निजी क्षेत्रसँग सम्बन्धित केही यस्ता विशेषता छन्, जसका कारण यसलाई विभिन्न ठाउँबाट आलोचनात्मक रूपमा हेरिने गरेको देखिन्छ,’ भट्टले भने, ‘निजी क्षेत्रले अनावश्यक रूपमा नीतिमा प्रभाव पार्न लबिङ गरेर रेन्ट–सिकिङ व्यवहारलाई प्रोत्साहन गर्ने काम गर्नुहुँदैन । निजी क्षेत्र स्पेकुलेसनभन्दा माथि उठ्नुपर्छ ।’
उनले ‘फिसिङ विथ डायनामाइट’ को अवधारणालाई उल्लेख गर्दै आजको फाइदाका लागि भविष्यको स्रोत–साधन समाप्त पार्ने सोच त्याग्नुपर्ने बताए ।
‘आज सबैथोक उपभोग गरौँ, आज डायनामाइट प्रयोग गरेर भए पनि माछा मारौँ र भोलिका लागि त्यो पोखरीमा माछा रहोस् वा नरहोस् भन्ने मानसिकतामा हामी जानु हुँदैन,’ उनले भने ।
उपाध्यक्ष भट्टले निजी क्षेत्रले सुशासनयुक्त कर्पोरेट संस्कार (गुड कर्पोरेट गभर्नेन्स) को प्रवर्द्धन गर्नुपर्ने र सरकारले पनि सुशासनलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । सरकारको ‘सुशासन र समृद्धि’ लाई सँगसँगै अघि बढाउने लक्ष्यमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको उनको भनाइ थियो ।
निजी क्षेत्रलाई थप सशक्त बनाउन सकिए मुलुक उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै उनले विकासका लागि प्रविधिको प्रयोग विस्तार गर्न, सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यक्षमता बढाउन आवश्यक रहेको बताए ।
उनका अनुसार प्रविधिमैत्री र दक्षतायुक्त कार्यशैली अपनाउन सके सार्वजनिक हितका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन तथा पछाडि परेका क्षेत्र, वर्ग र नागरिकलाई विकासको मूलधारमा समेट्न सहज हुनेछ ।








