साना तथा मझौला उद्यमको विकासबिनै आर्थिक क्रान्ति सम्भव छैन: सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकासबिना मुलुकमा आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य शर्त रहेको बताए । वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले आगामी दिनमा वस्तुगत संघ, जिल्ला–नगर उद्योग वाणिज्य संघ तथा साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
सरकारी बजेट तथा तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै वैद्यले हाल सञ्चालन भइरहेका सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गरे । महिला, युवा तथा कृषक लक्षित आर्थिक, सीपमूलक तथा आयमूलक तालिमहरू स्थानीय सरकारको अगुवाइमा सञ्चालन भए पनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनमार्फत हुनुपर्ने उनको प्रस्ताव छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिम सञ्चालन गरिए वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने उनको भनाइ थियो । उनले आगामी दिनमा दुवै महासंघले साझा समिति गठन गरी सरकारसँग प्रभावकारी समन्वय गर्ने योजना रहेको जानकारी दिए ।
वैद्यले भने, ‘नेपालमा ठूला उद्योग घरानाभन्दा पनि साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, साना उद्योगहरूको व्यवस्थापन र साना उद्यमीहरूको औद्योगिक क्रान्ति नहुँदासम्म आर्थिक क्रान्ति सम्भव हुँदैन भन्ने कुरा सबैले बुझेका छन् । तर पनि यो विषय सबै तहमा प्रभावकारी रूपमा आउन सकेको छैन ।’
उनले साना तथा घरेलु उद्योग महासंघका पदाधिकारीहरू केन्द्रदेखि जिल्लासम्म अत्यन्त सक्रिय भएर काम गरिरहेको उल्लेख गर्दै सरकारलाई यस विषयमा गम्भीर बनाउन संयुक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए ।
‘हामीले बोल्ने कुरा एउटै हुनुपर्छ । तपाईंहरूले बोल्ने कुरा र हामीले बोल्ने कुरा फरक भयो भने सरकारले त्यसलाई गम्भीर रूपमा सुन्दैन । हामी एकअर्काका परिपूरक हौँ । त्यसैले साना तथा मझौला उद्यमीहरूको विकास, उद्यमशीलताको प्रवर्द्धन, तालिम तथा कार्यक्रमहरूको सञ्चालनलगायतका विषयमा सबै मिलेर अघि बढ्नुपर्छ,’ उनले भने ।
यता, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निजी क्षेत्र सशक्त भए मात्र सरकारको सम्भावित हस्तक्षेप र दबाबलाई निरुत्साहित गर्न सकिने बताए ।
निजी क्षेत्र कमजोर हुँदा सरकारले थिच्न खोज्ने प्रवृत्ति बढ्ने उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीहरू संगठित र बलियो हुनुपर्नेमा जोड दिए । सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सबीचको कार्यगत एकता र आपसी सद्भाव अपरिहार्य रहेको बताए ।
उनले नेतृत्व तहमा एकअर्काबीचको सहकार्य र सम्मानले संस्थाहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलगायत पदाधिकारीहरूसँगको सहकार्य आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता जनाए ।
सिंहले भने, ‘हामी यदि कमजोर भयौँ भने निजी क्षेत्र पनि कमजोर हुन्छ । निजी क्षेत्र कमजोर भयो भने सरकारले पनि समय–समयमा हामीलाई थिच्न खोज्छ । तर हामी बलियो भयौँ भने आवश्यक पर्दा सरकारलाई पनि चुनौती दिन सक्छौँ । निजी क्षेत्रलाई बेवास्ता गरेर अघि बढ्न खोज्नुभयो भने अप्ठ्यारो पर्न सक्छ भन्ने सन्देश दिन सक्ने हैसियत पनि हामीले बनाउनुपर्छ ।’
उनले संस्थाहरूबीचको एकताले निजी क्षेत्रका समस्या समाधान गर्न र सरकारलाई जिम्मेवार बनाउन मद्दत पुग्ने उल्लेख गर्दै सबै व्यावसायिक संस्थालाई साझा मुद्दामा एकजुट भएर अघि बढ्न आह्वान गरे ।








