कङ्गोमा इबोलाका ५ बिरामी सफल उपचारपछि निको भए, सङ्क्रमितको सङ्ख्या २६३ पुग्यो

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट सङ्क्रमित पाँच जना बिरामीहरू उपचारपछि निको भएका छन् ।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार निको हुनेहरूमा चार जना स्वास्थ्यकर्मी र एक जना प्रयोगशाला कर्मचारी रहेका छन् । कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियुडोने म्वाम्बा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट चार जना नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गरे ।

उनीहरूको स्वास्थ्य परीक्षणमा लगातार दुई पटक नतिजा नकारात्मक (नेगेटिभ) आएपछि घर पठाइएको हो । यसअघि नै एक प्रयोगशाला कर्मचारी निको भएर घर फर्किसकेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुगेका थिए । सो क्रममा उनले बाँच्न सफल भएकाहरूको साहसको प्रशंसा गर्दै यसले महामारी नियन्त्रणमा नयाँ आशा जगाएको बताए । उनले ज्यानको जोखिम मोलेर सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको समर्पणप्रति आभारसमेत व्यक्त गरे ।

कङ्गोको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मे २९ सम्ममा देशभर इबोलाका २६३ जना सङ्क्रमित पुष्टि भएका छन् । जसमध्ये ४२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्री रोजर काम्बाले हाल निगरानी, कन्ट्याक्ट ट्रेसिङ र प्रयोगशाला परीक्षणलाई निकै तीव्रता दिइएको जानकारी दिए ।

यद्यपि अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का महानिर्देशक जीन कासेयाले मे ३० सम्मको तथ्याङ्कअनुसार अझै १ हजार १ सय भन्दा बढी नमूनाहरूको परीक्षण परिणाम आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =