दुग्ध क्षेत्रको विकासका लागि सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक: मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि तीन तहका सरकार, कृषक, निजी क्षेत्र र सरोकारवालाबीच आपसी सहकार्य आवश्यक रहेको बताएकी छन् ।
२६ औँ राष्ट्रिय दुग्ध दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले दुग्ध व्यवसायलाई प्रभावकारी बनाउन जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सरकार यसका लागि लागिपरेको समेत बताइन् । उनले दुग्ध क्षेत्रले हाल उत्पादन लागत वृद्धि, उपभोक्ता संख्या घट्दो अवस्था, भौगोलिक जटिलता, पशु रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण तथा किसानले समयमै भुक्तानी नपाउने जस्ता चुनौती सामना गरिरहेको बताइन् ।
उनले दुग्ध किसानको बक्यौता भुक्तानी प्रक्रियालाई दुग्ध विकास संस्थान (डीडीसी) प्राथमिकतामा राखेको पनि बताइन् ।
उनले भनिन् ‘समग्र दुग्ध क्षेत्रको विकासका लागि तीनै तहको सरकार, कृषक, निजी क्षेत्रका व्यवसाय र सरोकारवालाहरूसँग हातेमालो गर्दै जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा अझै सहकार्य गर्नको लागि आवश्यक पनि छ । सरकारले दुग्ध विकासको क्षेत्रमा दिनप्रतिदिन लागि परेर काम गरिरहेको छ । उत्पादन लागत बढेको तर उपभोक्ता कम भएको कुरा छ । भौगोलिक कठिनाइको कुरा छ । पशु रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण र समयमै भुक्तानी नहुने लगायतका समस्याहरू रहेका छन् । अहिले भुक्तानी समस्या समाधानको लागि दुग्ध विकास संस्थानले कृषकको भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्दै आइराखेको कुरा तपाईँहरूलाई अवगत नै छ । र हामीले सकेसम्म दुग्ध क्षेत्रलाई निकै अगाडि बढाउनुपर्छ भनेर काम गरिराखेका छौँ । डीडीसी नेपालको सरकारी संस्थान भएको कारण त्यहाँबाट नै राम्रो कामको सुरुवात गरेका हौँ । निजी क्षेत्रलाई उपेक्षा गरेको होइन ।’
उनले डीडीसी सरकारी स्वामित्वको संस्था भएकाले त्यहाँबाट सुधार र सकारात्मक कामको सुरुवात गरिएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उपेक्षा गर्ने सरकारको कुनै नीति नरहेको समेत स्पष्ट पारिन् ।








