प्रधानमन्त्री बालेनलाई पदमा बस्ने नैतिक अधिकार छैन: भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै आलोचना गरेका हुन् ।
उनका अनुसार देशको भौगोलिक अखण्डता र सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने किसिमको अभिव्यक्ति दिनु गम्भीर विषय भएको बताए ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको उल्लेख गरेको दाबी गर्दै रावलले त्यसलाई झुटा र आपत्तिजनक अभिव्यक्ति भनेका छन्।
रावलले फेसबुकमा लेखेका छन्, “नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।”
उनले थप लेख्दै यस्तो अभिव्यक्तिले देशको सार्वभौमिकतामै प्रश्न उठाउने भन्दै प्रधानमन्त्री पदमा बस्नु “दुर्भाग्यपूर्ण” हुने टिप्पणी गरेका छन् ।
रावलले प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन् ।
त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसदहरूको आधिकारिक धारणा समेत सार्वजनिक गर्नुपर्ने बताएका छन् ।








