हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने सरकारको योजना

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले काठमाडौंमा ‘सार्वभौम एआई कम्प्युट फ्याक्ट्री’ स्थापना गर्ने तयारी गरेको बताएका छन् ।
उनकाअनुसार यस परियोजनामार्फत हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी नेपाली युवा उद्यमी तथा प्रविधि क्षेत्रलाई अत्याधुनिक कम्प्युटिङ क्षमता उपलब्ध गराउने योजना छ । बजेटपछि अर्थमन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा नेपालले ठूलो छलाङ मार्ने आधार तयार भइरहेको दाबी गरे ।
उनकाअनुसार सरकारले विश्वका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थानमा कार्यरत नेपाली मूलका अग्रणी एआई शोधकर्ता तथा प्राध्यापकहरूलाई नेपाल ल्याएर फेलोसिपमार्फत अनुसन्धान र नवप्रवर्तनमा संलग्न गराउने योजना पनि अघि बढाएको छ ।
वाग्लेले एआई क्षेत्रमा कार्यरत नेपाली मूलका विज्ञ तथा न्युयोर्कको नास्डाकमा सूचीकृत कम्पनीलगायतको योगदानले परियोजनालाई गति दिएको बताए ।
उनले नेपालका डिजिटल तथा फिनटेक समुदायमा एआई पूर्वाधार निर्माणप्रति उत्साह देखिएको उल्लेख गर्दै सरकारले यस क्षेत्रमा उदारतापूर्वक लगानी गर्ने नीति लिएको बताए ।
दीर्घकालीन रूपमा निजी क्षेत्रबाट ठूलो लगानी आकर्षित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । नेपालमा उपलब्ध स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङसँग जोड्न सके विद्युत् निर्यातभन्दा पनि उच्च मूल्य सिर्जना गर्न सकिने उनले बताए ।
भारतमा तारमार्फत विद्युत् निर्यात गर्ने वा बङ्गलादेशलाई बिजुली बेच्नेभन्दा स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङसँग जोड्न सकियो भने नेपालले धेरै ठूलो आर्थिक छलाङ मार्न सक्ने उनको भनाइ छ । उनका अनुसार आगामी बजेटमा यस्ता धेरै रूपान्तरणकारी कार्यक्रम समावेश गरिएका छन्, जसले डिजिटल अर्थतन्त्र र प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा छ ।








