प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन नभएको सभामुखको स्पष्टीकरण

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पारेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

बैठकको सुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थिए । उनले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद भएको टिप्पणी गरे ।

त्यसैगरी, सांसद ऐन महरले पनि नियमावलीको नियम ५६ को उपनियम ३ र ४ को हवाला दिँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तोकिएको प्रक्रिया पालना नगरिएको भन्दै नियमापत्ति दर्ता गराएका थिए ।

उनले संविधान र नियमावलीभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै लिखित प्रश्नहरू लिने र सोहीअनुसार जवाफ दिने परम्परा कायम राख्न सभामुखको ध्यानाकर्षण गराए ।

जवाफमा सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको नियम ५६ पुनः अध्ययन गर्न आग्रह गरे । विपक्षी बेन्चका सदस्यहरूले निरन्तर उठाएको मागबमोजिम नै प्रधानमन्त्री सदनमा उपस्थित भई उत्तर दिन तयार रहेको उनको भनाइ थियो ।

सभामुख अर्यालले भने, ‘विपक्षी बेन्चका माननीय सदस्यहरूले निरन्तर कुरा उठाइरहनुभएको र प्रधानमन्त्री ज्यू पनि रोष्टममा उभिएर जवाफ दिन तयार भएको अवस्थामा नियमावलीले तीन दिन अगावै लिखित प्रश्न सोध्नुपर्ने बाध्यकारी व्यवस्था यस सन्दर्भमा आकर्षित हुँदैन ।’

सभामुखले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठकको प्रक्रिया अगाडि बढाएका थिए । विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री तयार रहेको भन्दै उनले सदनको कारबाहीलाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =