प्रचण्डको स्वास्थ्यमा सुधार, भोलिसम्म डिस्चार्ज हुन सक्ने

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमा सुधारको क्रम जारी रहे भोलिसम्म डिस्चार्ज हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रचण्डलाई शनिबार बिहान उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनदेखि ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित्सकहरूले अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाव दिएका थिए ।

आइतबार बिहान अस्पताल पुगेर प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका नेता माधव सापकोटाले चिकित्सकहरूलाई उद्धृत गर्दै स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बताए । उनका अनुसार सुधारको क्रम यथावत् रहे भोलि नै अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना छ ।

पारिवारिक स्रोतका अनुसार प्रचण्ड जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएपछि अस्वस्थ भएका थिए । धनगढीको अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर परेको हुन सक्ने परिवारको अनुमान छ ।

काठमाडौं फर्किएलगत्तै ज्वरो आउन थाले पनि उनी केही दिन पार्टी गतिविधिमा सक्रिय नै रहेका थिए । पछि स्वास्थ्यमा असहजता बढेपछि अस्पताल लगिएको र परीक्षणका क्रममा हल्का निमोनिया देखिएको स्रोतले जनाएको छ ।

अस्पतालमा भेट गरेका युवा नेता रामप्रसाद सापकोटाले पनि प्रचण्डको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उपचार जारी रहेको र भोलिसम्म अस्पतालमै रहेर डिस्चार्ज हुने सम्भावना रहेको उल्लेख गरेका छन् ।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड जेठ १५ गते संघीय संसद्को बैठकमा उपस्थित हुन सकेका थिएनन्, जहाँ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =