भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महशुल बढाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम गरिएको छ । शुक्रवार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रवार सरकारले बजेटमार्फत सुनमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको थियो । चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ । शुक्रवार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आइतबार ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रवार नै सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको थियो । भन्सार दर वृद्धिसँगै सुन तथा चाँदीको कारोबार थप महँगो बनेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस ४,५३९.७६ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ७५.२९ अमेरिकी डलर रहेको छ ।

सुनचाँदीको आयात लागत बढेकाले आगामी दिनमा पनि घरेलु बजारमा मूल्य उच्च रहने सम्भावना छ । महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले भन्सार वृद्धिका कारण सुनको मूल्य उल्लेख्य रूपमा बढेको बताए । उनका अनुसार आइतबार विनिमय दर केही घटेकाले मूल्य अझ बढी नबढेको हो । आगामी दिनमा थप बढ्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =