आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य छः रञ्जु न्यौपाने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भएपनि कार्यान्वयनयोग्य रहेको बताएकी छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजेटले सुशासन र समृद्धिको स्पष्ट मार्गचित्र कोरेको दाबी गरिन् ।
सांसद न्यौपानेले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई ‘महत्वाकांक्षी’ स्वीकार गर्दै ठूला लक्ष्य राख्नु र सपना देख्नु विकासका लागि अनिवार्य सर्त भएको उल्लेख गरिन् । ‘बजेट महत्वाकांक्षी छ, तर यो सरकारले लक्ष्य हासिल गर्नसक्छ । ठूला सपना नदेखी प्रगति सम्भव छैन, त्यसैले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । विगत ३५–३७ वर्षमा बिग्रिएको प्रणालीलाई एकै वर्षमा सुधार्न सकिँदैन। यो एक क्रमिक प्रक्रिया हो र त्यसका लागि अध्ययनमा बजेट छुट्याउनु सराहनीय कार्य हो’ उनले भनिन् ।
पुराना उद्योगहरूको अध्ययनका लागि ७५ करोड रुपैयाँ विनियोजन गरिएको विषयमा स्पष्ट पार्दै उनले कुनै पनि काम शुरु गर्नुअघि त्यसको वस्तुगत अवस्थाबारे जानकारी लिनु वैज्ञानिक पद्धति भएको बताइन् ।
विगतमा भएका गल्ती र उद्योगहरूको वर्तमान अवस्था बुझेर मात्र अघि बढ्नुपर्नेमा जोड दिइन् । बजेटलाई ‘कर्मकाण्डी’ भनी गरिएको टिप्पणीको खण्डन गर्दै सांसद न्यौपानेले यसमा समेटिएका बहुवर्षीय योजनाहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
प्रतिपक्षले आफ्नो धर्म निभाउन बजेटको आलोचना गरे पनि यो बजेट जनताकै हितका लागि आएको र कार्यान्वयनको दिशामा सरकार दृढ रहेको उनको भनाइ थियो ।
अर्थमन्त्रीको कार्यशैली र बजेटका स्रोतहरूप्रति आफू विश्वस्त रहेको उल्लेख गर्दै न्यौपानेले यसले मुलुकमा सुशासन र समृद्धिको जग बसाल्ने दाबी गरिन् ।








