२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।
शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिमध्ये २५ प्रकार औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियकरण विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने बताए ।
उनले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल (पीपीपी) मोडलमा देशका सात वटै प्रदेशका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रको रूपमा रूपान्तरण गरिने बताए ।
उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने बताए ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताए ।








