राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत

काठमाडौँ । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।
शुक्रवार शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेसाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताएका छन् ।
कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान कुनै एक किसानको नभई सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताए । उनले खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई सरकारले पहिचान गरेको अनुभूति भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेसालाई मर्यादित, सम्मानित र आकर्षक पेसाका रूपमा स्थापित गर्न सहयोग पुग्ने धारणा राखे ।
अवस्थीले कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै युवा पुस्तालाई कृषि पेसातर्फ आकर्षित गर्न आफू निरन्तर लागिरहेको समेत बताए ।
उनले भने ‘आजको यो सम्मान केवल सम्मान होइन देशभरि किसानहरूको सम्मान हो । खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई नेपाल सरकारले पहिचान गरेको अनुभूति हामीले गरेका छौँ । यस पुरस्कार तथा सम्मानले हामी नयाँ, ऊर्जा तथा उत्साह र मनोबल बढाएको छ । यस्ता पुरस्कार तथा सम्मानले कृषि पेसालाई मर्यादित, सम्मानित र आकर्षित पेसाका रूपमा स्थापित गर्न कोसेढुंगा साबित हुनेछ । कृषि पेसामा रहेको सम्भावनालाई उजागर गरी कृषि पेसालाई सम्मानित, मर्यादित र आकर्षित पेसाको रूपमा युवा पुस्तामाझ परिचित गराउन निरन्तर लागिरहेको छु ।’
उनले सरकारले कृषि नीतिमा केही सुधार गर्दै व्यावसायिक र वैज्ञानिक कृषि नीति अवलम्बन गरे मात्र कृषि पेसाको पुस्तान्तर सम्भव हुने बताए ।








