कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता: सभापति चौधरी

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषिलाई परम्परागत पेसाका रूपमा नभई सम्मानित, आधुनिक र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको समेत बताए । उनले नेपालको भौगोलिक विविधताले कृषि क्षेत्रमा अपार सम्भावना सिर्जना गरेको उल्लेख गर्दै आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि गर्न सकिने धारणा राखे ।

उनले भने ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताले हामीलाई कृषि क्षेत्रमा अपार सम्भावना दिएको छ । आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी बनाउन सक्यौँ भने नेपाल आत्मनिर्भर मात्रै होइन कृषि निर्यात गर्न सक्ने राष्ट्र हुनसक्छ । यसको लागि हामी पनि लागिपरेका छौँ भन्ने कुरा म राख्न चाहन्छु । सरकारले कृषिलाई परम्परागत पेसाको रूपमा मात्र नभई सम्मानित, आधुनिक र व्यावसायिक पेसाको रूपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । अब युवाहरूलाई विदेश पलायन हुने अवस्थाको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्नको लागि र उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा पनि जानकारी गराउन चाहन्छु । किसानलाई अनुदानको लाइनमा होइन उत्पादनमा पनि आधारित सम्मान गर्ने राज्यको नीति रहेको छ ।’

उहाँले किसानलाई केवल अनुदानमा सीमित नराखी उत्पादनका आधारमा सम्मान गर्ने राज्यको नीति रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =