मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम मेला जारी, लाखौँ भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘पुरुषोत्तम मेला’ जारी रहेको छ ।

जेठ ३ गतेदेखि सुरु भएको पुरुषोत्तम मास (अधिक मास) मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँ श्रद्धालु भक्तजन भगवान नारायणको पूजा–आराधनाका लागि मन्दिर पुगिरहेका छन् ।

धार्मिक मान्यताअनुसार पुरुषोत्तम महिनामा भगवान नारायणको श्रद्धापूर्वक पूजा गरे सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको मन्दिरका पूजारी शैलेश आचार्यले बताए ।

उनका अनुसार भगवान विष्णुले दश अवतार लिँदा पहिलोपटक मत्स्य अवतार धारण गरी प्रलयकालमा समुद्रमा वेदको रक्षा गरेको पुराणमा उल्लेख छ । द्वापर युगमा भगवान कृष्णले ग्वालाहरूको उद्धार गर्ने क्रममा उक्त स्थानमा आएर यसलाई भगवान विष्णुको मत्स्य अवतार भएको पहिलो स्थलका रूपमा चिनाएको धार्मिक विश्वास रहेको उनले बताए ।

पूजारी आचार्यले पुरुषोत्तम महिनामा सम्पूर्ण तीर्थस्थलका देवी–देवता तथा भगवानहरू यहाँ आएर मोक्ष प्राप्त गर्ने जनविश्वासका कारण मेलाको परम्परा सुरु भएको उल्लेख गरे ।

उनले भने, ‘द्वापर युगमा भगवान कृष्णले ग्वालाहरूको उद्धार गर्ने क्रममा यो स्थानमा आएर यहाँ भगवान विष्णुको मत्स्य अवतार भएको पहिलो स्थल भनेर चिनाउनुभएको हो । त्यसपछि पुरुषोत्तम महिनामा सम्पूर्ण देवी–देवता यहाँ आएर मोक्ष प्राप्त गर्ने विश्वास रहँदै आएको छ । यही मान्यताका कारण यहाँ मेला लाग्ने परम्परा सुरु भएको हो ।’

मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो भगवान मत्स्यनारायणको मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ । चार हातमा शंख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्ति दर्शन गर्न भक्तजनहरूको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =