परराष्ट्रमन्त्री र बेलायतका रक्षा राज्यमन्त्रीबीच भर्चुअल बैठक

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ड्यान जार्भिस एमबीईबीच आज भर्चुअल बैठक भएको छ । बैठकमा बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
मन्त्री खनालले बेलायती गोर्खाहरूले गरेको त्याग र बलिदानप्रति सम्मान तथा सहानुभूतिको दृष्टिकोणबाट उनीहरूका मागहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरे । साथै, उनले यस विषयको समाधानका लागि नेपाल सरकार रचनात्मक तथा सहकार्यपूर्ण भूमिकामा रहन तयार रहेको धारणा व्यक्त गरे ।
रक्षा राज्यमन्त्री जार्भिसले बेलायती गोर्खाहरू बेलायती सेनाको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस विषयको समाधान यथाशीघ्र गर्नु बेलायत सरकारको प्राथमिकतामा रहेको बताएका थिए ।
बैठकमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख गणेशप्रसाद ढकाल तथा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । उक्त बैठक काठमाडौँस्थित बेलायती दूतावासको समन्वय र सहजीकरणमा सम्पन्न भएको हो ।








