मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्ने

काठमाडौं । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले उक्त कार्यक्रमबारे जानकारी दिएको हो ।
आन्दोलनको नेतृत्व गरिरहेको मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले आगामी मंगलबार मिथिला र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा अदालत घेराउ गरिने बताए ।
उनका अनुसार पीडितहरू विगत १२ दिनदेखि आन्दोलनमा रहे पनि राज्य पक्षले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाइएको छ । उनले पीडितहरूको समस्या सुनुवाइ नभएकाले आन्दोलन थप सशक्त बनाइने बताए ।
महतोले भने, ‘हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । तर अहिलेसम्म पीडितहरूको कुरा सुनिएको छैन । छलफलमा समेत मिटरब्याज धनीहरूले चासो देखाएका छैनन् । त्यसैले अब आन्दोलनलाई अगाडि बढाउँदै जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्नेछौँ ।’
आयोजकका अनुसार मधेश प्रदेशभरिबाट करिब ८ देखि १० हजार पीडितहरू आन्दोलनमा सहभागी हुने अनुमान गरिएको छ ।








