वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध सरकारको शून्य सहनशीलताको नीति: मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको पनि बताए । उनले विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको रहेको पनि बताए ।

उनले उद्धार तथा सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली राजदूतावासमार्फत नियमित पहल भइरहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरी वर्गीकरण गरी निश्चित समयसीमाभित्र फर्छ्योट गरिने समेत बताए । आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रविधिमार्फत सञ्चालन गर्ने तयारी भइरहेको समेत मन्त्री यादवले बताए ।

उनले भने ‘वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्णरुपमा चनाखो छ । विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको विषयमा समेत मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ । र उनीहरूको उद्धार र सहयोगको लागि देशभित्रकै मौजुदा संयन्त्रहरू विदेशस्थित राजदूतावासबाट नियमित रूपमा पहल भइरहेको छ । वैदेशिक रोजगारीको नाममा हुने ठगी, शोषण र अनियमितताका सम्बन्धमा सरकारको जिरो टोलेरेन्स नीति रहेको छ । विगतमा ठगीसम्बन्धीका ४० हजार बढी उजुरीहरूको वर्गीकरण गरी समयसीमा समेत निर्धारण गरी फच्र्यौट गर्ने नीति लिएका छौँ । अगामी साउनदेखि सबै वैदेशिक रोजगारसम्बन्धीको काम प्रविधिमार्फत हुनेगरी प्रविधि निर्माणको काम भइरहेको छ ।’

उनले विश्वभर रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =