गाजा सहायता फ्लटिलामाथि इजरायली हस्तक्षेप, टर्कीका राष्ट्रपतिले गरे निन्दा

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजातर्फ गइरहेको ‘ग्लोवल सुमुद फ्लटिला’ मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपको निन्दा गरेका छन् ।

उनले इजरायलको यस कदमलाई ‘सामुन्द्रिक डकैती र गुण्डागर्दी’ को संज्ञा दिएका छन् । अङ्करास्थित राष्ट्रपतीय भवनमा आयोजित मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले उक्त टिप्पणी गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भने,‘मानवीय सहायता अभियानमाथि इजरायलले गरेको आक्रमणले प्यालेस्टिनी जनताप्रतिको अन्तर्राष्ट्रिय ऐक्यवद्धता वा न्यायको खोजीलाई कदापि रोक्न सक्ने छैन। हामी इजरायलको यस्तो गैरकानुनी कार्यविरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई एकजुट भई कदम चाल्न आह्वान गर्दछौँ ।’

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली कमाण्डो बलले ‘ग्लावल सुमुद फ्लटिला’ का जहाजहरूलाई गाजा पुग्नबाट रोकेको पुष्टि गरेका छन् । प्रधानमन्त्री नेतन्याहुले उक्त फ्लटिलालाई गाजाका हमास लडाकुहरूमाथि लगाइएको घेराबन्दी तोड्ने एक ‘दुष्प्रयास’ को रूपमा चित्रण गरेका छन् ।

सहायता टोलीले पनि सोमबार बिहान गाजा तटबाट करिव २५० नटिकल माइल टाढा अन्तर्राष्ट्रिय जलक्षेत्रमा इजरायली सेनाले आफ्ना जहाजहरू नियन्त्रणमा लिन सुरु गरेको जानकारी दिएको छ ।

उक्त मानवीय सहायता फ्लटिला टर्कीको मार्मारिस तटबाट गत बिहीवार ५० भन्दा बढी जहाजसहित प्रस्थान गरेको थियो । इजरायलले गाजामा लगाएको नौसैनिक नाकाबन्दी तोडेर प्यालेस्टिनीहरूलाई सहायता सामग्री पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानमा अधिकारकर्मी र स्वास्थ्यकर्मीहरू सहभागी थिए । इजरायलको नाकाबन्दी तोड्ने यो तेस्रो प्रयास भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =