प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्छौंः इन्दु बर्मा

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिसी महिला टी ट्वान्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एशियन गेम्समा छनोट हुने आशा व्यक्त गरेकी छन् ।

मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी ट्वान्टी प्रिमियर कप आयोजना हुँदै छ । जापानमा आयोजना हुने एसियन गेम्सको छनोट चरणसम्म रहेको प्रिमियर कपमा नेपालसहित कुल १८ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।

नेपाली टोलीकी कप्तान इन्दुले यसपल्ट राम्रो तयारी भएकाले छनोट हुने आशा व्यक्त गरिन् । उनले यसबीच दुई वटा अभ्यास खेल पनि खेलेको उल्लेख गर्दै त्यसमा कमिकमजोरी सुधार गरिएको बताइन् ।

अहिले टोली सन्तुलित बनेकाले राम्रो नतिजा लिएर आउनेमा आशावादी रहेको उनी बताउँछिन् । ओपनिङ र मिडल अर्डर या बलिङमा पाएको भूमिकामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी निभाउन सके राम्रो नतिजा आउने उनको विश्वास छ ।

देशमा जसरी तयारी गरेको छ त्यही प्रदर्शन विदेशमा पनि गर्न आवश्यक रहेको कप्तान इन्दु बर्माको भनाइ छ । एसोसिएट राष्ट्र एसियन गेम्ससम्म पुग्न सके भविष्यमा यसले ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।

कप्तान इन्दुले हरेक एउटा खेलमा ध्यान दिएर बिना दबाब खेल्ने बताइन् । प्रिमियर कपमा नेपाल समूह ‘डी’ छ । भुटान समूह ‘डी’ मा परेको छ, जहाँ नेपाल, हङकङ चीन र कतार पनि रहेका छन् । समूह चरणका सबै खेल केटीजे ओभलमा सञ्चालन हुनेछन् ।

यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा उपाध्यक्ष सिंहले लगानी राम्रो भइरहेको अवस्थामा नेपाली महिला टोलीबाट धेरै आशा गरेको बताए ।

उनले टोलीमा राम्रो एकता भएर खेल्न आग्रह गरेका छन् । क्यानका उपाध्यक्ष सिंहले खेल नभएको अवस्थामा पनि नेपाली खेलाडीले सदैव आफूलाई तयारी गरिरहन आवश्यक रहेको औंल्याए । उनले नेपाली टोलीमा राम्रो खेलाडी रहेकाले नतिजा राम्रो आउनेमा आफू आशावादी रहेको धारणा राखे ।

थाइल्यान्डको महिला टोलीलाई राम्रो स्थानसम्म पुर्‍याएको प्रशिक्षक साथ हुँदा पनि नतिजा आउन नसकेको उनको भनाइ छ । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले रवान्डामा भएको प्रतियोगितामा फरक वातावरण रहेकाले राम्रो नतिजा आउन नसकेको बताए । तर पनि महिला खेलाडीको प्रदर्शनबाट आपूm खुसी रहेको उनी बताउँछन् ।

प्रिमियर कप क्रिकेट प्रतियोगितामा भुटानले नेपालसँग प्रतिष्पर्धा गर्ने भएको छ । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को तत्वावधानमा हुने प्रतियोगितामा एशियाका उदयीमान महिला क्रिकेट राष्ट्रहरूको सहभागिता रहनेछ ।

भुटानले जुन ३ मा हङकङ चीनविरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि जुन ४ मा नेपालसँग तथा जुन ६ मा कतारसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =