पार्टी मिलाउन खोज्छु तर सदस्यता अध्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपाल को साधारणसभामा आइतबार बोल्दै उनले पार्टीलाई एकताबद्ध राख्न आफू लचिलो हुन तयार रहेको स्पष्ट पारे ।
थापाले नेपाली काँग्रेस को १४ औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन आफू तयार रहेको बताए ।
उनका अनुसार महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू अहिले केन्द्रीय समितिबाट बाहिर रहेकाले सबैलाई सम्मानपूर्वक समेटेर अघि बढ्नुपर्ने आवश्यकता छ ।
‘म प्रत्येक नेतालाई सम्मानका साथ आवश्यक जिम्मेवारीमा ल्याएर सँगै काम गर्न चाहन्छु,’ उनले भने, ‘कसलाई कुन जिम्मेवारी दिनुपर्छ, त्यसमा छलफल गर्न तयार छु ।’
थापाले विशेष महाधिवेशन पक्षधर र विपक्षी भनेर विभेद नगरी सबैलाई समान अवसर दिने प्रस्ताव अघि सारेको पनि जानकारी दिए ।
उनले पार्टीको सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर केही नेताहरूले विरोध गरिरहेकोप्रति असन्तुष्टि जनाए । उनका अनुसार देशभरका सदस्यलाई विभिन्न माध्यमबाट सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला त्यसलाई रोक्ने प्रयास गलत हो ।
‘नेपाली काँग्रेसको सदस्य हुँ भनेर निरन्तरता दिन आग्रह गर्दा पनि त्यसलाई नकारात्मक रूपमा बुझ्ने प्रवृत्ति देखिएको छ,’ उनले भने ।
थापाले पार्टी एकताबद्ध नहुने हो भने संगठन कमजोर हुने भन्दै सदस्यता अध्यावधिक प्रक्रियामा सबै नेताहरूलाई सहयोग गर्न आग्रह गरे ।
उनका अनुसार नेपाली काँग्रेस ले गुमेको करिब १० लाख शुभेच्छुक तथा समर्थकको मत पुनः प्राप्त गर्ने गरी काम गर्नुपर्ने आवश्यकता छ ।








