सरकारविरुद्ध आन्दोलनमा उत्रिन युवाहरूलाई एमाले महासचिवको आह्वान

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राज्यका तीन अंग–न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

आइतबार आयोजित ३३ औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा भएको विमर्श कार्यक्रममा बोल्दै उनले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै युवाहरूलाई संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरे ।

पोखरेलका अनुसार प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी हुन नपर्ने परिपाटी विकास गर्ने प्रयास भइरहेको छ, जुन लोकतान्त्रिक अभ्यासविपरीत रहेको उनको भनाइ छ ।

उनले न्यायपालिकाको नेतृत्व ‘गोजीबाट निकाल्ने प्रयत्न’ भएको टिप्पणी गर्दै राज्यका अंगहरूबीचको सन्तुलन भंग गर्न खोजिएको आरोप लगाए । ‘राज्यका तीन अंगबीचको सन्तुलन नै खल्बल्याइएको छ,’ उनले भने, ‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी नहुने परिपाटी बनाइँदैछ, जुन गम्भीर विषय हो ।’

पोखरेलले पपुलिज्मको आवरणमा अधिनायकवाद हुर्कन खोजिरहेको भन्दै त्यसको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने बताए । उनले आन्दोलनको आधार जनताको बहुदलीय जनवाद हुनुपर्नेमा जोड दिए ।

उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि पनि प्रश्न उठाउँदै अनुत्पादक लगानी र आर्थिक पारदर्शिताको अभावप्रति आपत्ति जनाए ।

‘केमा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले देशको विकास गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =