नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट गरेका छन् ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा आइतबार बोल्दै उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराए ।

थापाले नागरिक अधिकार कुण्ठित गर्ने गरी सुकुम्बासी बस्तीमा डोजर चलाइएको आरोप लगाउँदै सरकार संविधानभन्दा माथि हुन नसक्ने बताए ।

उनका अनुसार सुशासनका नाममा नागरिक अधिकार कमजोर पार्ने कुनै पनि अभ्यास स्वीकार्य नहुने उल्लेख गर्दै लोकतन्त्रमा सरकार र नेता दुवै संविधानको अधीनमा रहनुपर्ने बताए ।

‘कुनै पनि संस्था वा नेता संविधानभन्दा ठूलो हुँदैन,’ उनले भने, ‘जतिसुकै बहुमत भए पनि सरकार संवैधानिक सीमाभन्दा माथि जान सक्दैन ।’

उनले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा पनि सुनिश्चित हुनुपर्ने धारणा राखे ।

थापाले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा हुने सकारात्मक काममा नेपाली काँग्रेस को पूर्ण समर्थन रहने बताए । तर नागरिक अधिकारलाई कमजोर पारेर गरिने काममा भने काँग्रेस सहमत नहुने उनको भनाइ थियो ।

‘हामी सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा सरकारले राम्रो काम गरे थपडी बजाएर समर्थन गर्ने हो,’ उनले भने, ‘तर नागरिक अधिकारको मुलतबीमा राखेर गरिने काम हाम्रो बाटो होइन ।’

उनले नागरिकको आत्मसम्मानको विषयमा काँग्रेस कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे ।

थापाले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि काँग्रेस सडक र सदन दुवैबाट निरन्तर संघर्ष गर्ने पनि बताए । साथै, लोकतन्त्रका पक्षमा उठाइएका आवाजलाई अपराधीकरण गर्ने प्रयास भइरहेको आरोप समेत उनले लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =