शिक्षाको अधिकारबाट कोही बालबालिका वञ्चित हुनुहुँदैनः सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुनै पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छन् ।

बालबालिकाको शिक्षा र आवासका लागि महानगरपालिका, प्याब्सन र एन–प्याब्सनबीच भएको समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले बालबालिकालाई होस्टेलमा राखेर पढाउने व्यवस्थाका लागि निजी विद्यालयहरूले देखाएको अग्रसरता र सहकार्यको प्रशंसा गरेकी छन् । कार्यक्रममा उपस्थित बालबालिकालाई लगनशील भएर अध्ययन गर्न र भविष्यमा असल नागरिक बन्न उनले आग्रह गरिन् ।

बालबालिकासँग संवाद गर्दै डंगोलले उनीहरूको रुचि र लक्ष्यबारे चासो राखेकी थिइन् । उनले डाक्टर, प्रहरी, सैनिक वा शिक्षक जे बने पनि समाजका लागि उपयोगी र असल नागरिक बन्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘बालबालिकाले शिक्षाको अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यस कार्यमा प्याब्सन र एन–प्याब्सनले काठमाडौँ मात्र नभई देशैभर सहयोग गर्न देखाउनुभएको तदारुकता निकै सराहनीय छ ।’

नदी किनारका अव्यवस्थित बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बालबालिकाको शिक्षाका लागि महानगरपालिकाले विशेष व्यवस्था गरेको हो ।

महानगरले बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन आवास सुविधासहित शैक्षिक व्यवस्था मिलाएको बताएको छ । अभिभावक र विद्यार्थीको छनोटका आधारमा विभिन्न संस्थागत विद्यालयसँग सहकार्य गरी कार्यक्रम अघि बढाइएको हो ।

महानगरपालिका, अभिभावक र सम्बन्धित विद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर विद्यार्थीलाई आवाससहित निःशुल्क वा सहुलियतपूर्ण शिक्षा दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =