निजी क्षेत्रलाई काम गर्ने वातावरण होइन, भय र त्रास सिर्जना गरियो: रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने सहज वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रासको अवस्था बनाएको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद झाँक्रीले सरकारले निजी क्षेत्रलाई “पहिले थुन्ने अनि सुन्ने” प्रवृत्ति अपनाएको टिप्पणी गरिन् । उनले सरकारलाई “पहिले सुन्ने अनि मात्रै कारबाही गर्ने” संस्कार अपनाउन आग्रह गरिन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरूको निरन्तरता मात्रै भएको आरोप लगाउँदै नयाँ सोच र स्पष्ट दिशाको अभाव रहेको बताइन् ।
झाँक्रीले भनिन्, “सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो । पुरानै कार्यक्रमहरू दोहोर्याएर लेखिएको छ। यति ठूलो जनमत पाएर आएको पार्टीसँग सबै क्षेत्रमा नयाँ ढंगले अघि बढ्ने अवसर थियो, तर त्यो उपयोग हुन सकेन ।”
उनले नेपाली जनताले परिवर्तन र रूपान्तरणको अपेक्षा गरे पनि परम्परागत कार्यशैलीकै निरन्तरताले जनआकांक्षा कुण्ठित भइरहेको टिप्पणी गरिन् ।
सांसद झाँक्रीले निजी क्षेत्रमाथि अनावश्यक दबाब सिर्जना भइरहेको आरोप लगाउँदै सरकारले लगानी र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, “अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ। यसले नयाँ बाटो दिँदैन ।”
सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको दाबी गरे पनि नागरिकता, राहदानी वा जग्गाधनी पुर्जा वितरण मात्रै प्रभावकारी डेलिभरी नहुने उनको भनाइ थियो ।
झाँक्रीले सबै वर्ग, समुदाय र नागरिकको मानवअधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन् ।








