प्रधानमन्त्री र सरकार संसदप्रति उत्तरदायी हुनुपर्छः पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार र प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिएकी छन् ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अर्यालले सरकार निर्माणको मुख्य थलो संसद भएकाले सरकारले यसको गरिमा, भूमिका र उत्तरदायित्वलाई बेवास्ता गर्न नहुने बताइन् ।

उनले विगतका प्रधानमन्त्रीहरूले संसदमा आफैं समय माग गरेर महत्वपूर्ण विषय र घटनाक्रमबारे जानकारी गराउने संसदीय परम्परा रहेको स्मरण गराउँदै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन् ।

विशेषगरी सरकारको वार्षिक नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको उपस्थिति र सक्रिय सहभागिता अनिवार्य हुनुपर्ने उनको भनाइ थियो ।

अर्यालले भनिन्, “नीति तथा कार्यक्रम सरकारको मात्र नभई सिंगो राज्यको भविष्यसँग जोडिएको विषय हो। यसको प्रमुख हुनुको नाते प्रधानमन्त्री छलफलमा बस्ने, सांसदहरूको सुझाव सुन्ने र उठेका प्रश्नहरूको जवाफ दिने गर्नुपर्छ ।”

उनले नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी र परिष्कृत बनाउन सरकारले संसदीय छलफललाई महत्व दिनुपर्ने उल्लेख गरिन् ।

संसदीय अभ्यासमा छलफलबाट भाग्ने, प्रश्नको सामना नगर्ने र संसदलाई बेवास्ता गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नहुने उनको भनाइ थियो ।

उपनेता अर्यालले संसदप्रति जिम्मेवार बन्न र सरकारको एक वर्षे मार्गचित्रका रूपमा रहेको नीति तथा कार्यक्रमलाई गहन छलफलमार्फत पूर्णता दिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =