प्रधानमन्त्रीको ‘ड्रेसअप’माथि काँग्रेसको प्रश्न– कस्तो परम्परा बसाल्न खोज्दै हुनुहुन्छ ?

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै त्यसलाई अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरीत भएको टिप्पणी गरे ।
उनले सरकारले पुराना संसदीय परम्परा र स्थापित नजिरहरू तोड्दै नयाँ शैली लागू गर्न खोजेको आरोप लगाए ।
केसीले भने, “सरकार एकातिर पुराना परम्परा तोड्दै नयाँ जग बसाल्न उद्दत देखिन्छ। बोलाइएको संसद स्थगित गरेर चाङ लगाएर अध्यादेश ल्याइएको छ। यो अन्तर्राष्ट्रिय संसदीय प्रणाली र अभ्यासविपरीत छ ।”
उनले गृह मन्त्रालय लामो समयदेखि नेतृत्वविहीन रहेको विषय पनि उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
प्रधानमन्त्री बालेन्द्र साहको पहिरनबारे टिप्पणी गर्दै सांसद केसीले त्यसलाई पनि नयाँ परम्पराको संकेतका रूपमा चर्चा हुन थालेको बताए । उनले भने, “प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा नभएको ड्रेसअप देखिएको छ । यसमा पनि चर्चा सुरु भएको छ । नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि भन्ने प्रश्न उठेको छ।”
सांसद केसीले संसदबाट निर्वाचित प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।








