इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्यो, भ्लोनको नेतृत्वमा टिम घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ ।
आगामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषणा भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा भ्लोनले तीन वर्षे कार्यकालको भिजन र टिम घोषणा गरेका छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरे । उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्टलाई अघि सारिएको छ । त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएको छ ।
कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ । त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् ।
भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ । उक्त भिजनमा मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।
उनका अनुसार सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ, जसका लागि ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ । यो महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ तर, यो लगानीका लागि विद्युत खरिद सम्झौता (पीपीए), प्रशारण लाइन र प्रशासनिक जटिलता गम्भीर चुनौतीका रुपमा छन् ।
आगामी वर्षहरुमा यी जटिलता फुकाउन पहल गर्ने उनले बताए । अहिले करिब १२ हजार मेगावाट भन्दा बढीका आयोजनाहरूको पीपीए रोकिएको अवस्थालाई खुलाउन पहल गर्ने पनि उनले बताए ।
ऊर्जा क्षेत्रको तिब्र विकासका लागि नीतिगत सुधारको आवश्यकता औंल्याउँदै उनले जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पु¥याउनुपर्ने माग अघि सारेका छन् ।
साथै, वन, वातावरण र प्रशासनिक प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गर्न र ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने माग भिजन पत्रमा उल्लेख छ ।
विद्युत् व्यापारको क्षेत्रमा नेपाललाई दक्षिण एशियाकै ऊर्जा केन्द्र बनाउने लक्ष्यका साथ भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कुटनीतिक पहल लिने भ्लोन नेतृत्वको टिमको भिजन पत्रमा उल्लेख छ ।








