जेठ १ गते दुई नाटक  ‘अछेता’ र ‘लुसिफर राइजिङ’ मञ्चन हुँदै

दुवै नाटकले फरक परिवेश र विषयवस्तु बोके पनि समाजभित्रका विश्वास, विद्रोह र परिवर्तनका प्रश्नलाई रङ्गमञ्चमार्फत दर्शकमाझ उठाउने अपेक्षा गरिएको छ।

काठमाडौँ। राजधानीका दुई रङ्गमञ्चमा शुक्रवार  (जेठ १ गते) फरक स्वाद र विषयवस्तुका दुई नाटक मञ्चन हुँदै छन्। बत्तीसपुतलीस्थित शिल्पी थिएटर मा ‘अछेता’ तथा थापागाउँस्थित एक थिएटर नेपालको कुञ्ज थिएटर मा ‘लुसिफर राइजिङ’ दर्शकमाझ प्रस्तुत हुन लागेका हुन्। नाटकहरूलाई क्रमशः गोविन्द सुनार र सहलेशले निर्देशन गरेका छन्।

शिल्पी थिएटरमा मञ्चन हुन लागेको ‘अछेता’ कर्णालीको परिवेशमा आधारित खस भाषाको नाटक हो। नाटकले ग्रामीण समाजमा अझै जीवित रहेको धामी–झाँक्रीप्रतिको अन्धविश्वास, अशिक्षा र त्यसले पार्ने सामाजिक प्रभावलाई केन्द्रमा राखेको छ। कथाको मुख्य पात्र दलबहादुर रूढिवादी सोच बोकेको व्यक्ति हो, जसले घरमा कुनै समस्या आइपरेपछि समाधानका लागि गाउँको धामीकै शरण लिने गर्छ। धामीले भनेका कुरालाई अन्तिम सत्य मान्ने उसको सोच र त्यसले परिवार तथा जीवनशैलीमा पारेको प्रभावलाई नाटकले मार्मिक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।

यता एक थिएटर नेपालको कुञ्ज थिएटरमा मञ्चन हुने ‘लुसिफर राइजिङ’ समकालीन जेन्जी आन्दोलन र व्यवस्था विरोधी चेतनामा आधारित नाटक हो। कथाअनुसार भदौ २४ को रात सुकुम्वासी बस्तीको छेउमा रहेको एउटा छाप्रोमा एलिसा आफ्नो भविष्यका सपना जोगाइरहेकी हुन्छे। बाहिर सहर अशान्त छ, व्यवस्था भत्किरहेको छ, र त्यही अराजक रातमा ‘सैतान’ हरू आश्रय खोज्दै एलिसाको छाप्रोमा आइपुग्छन्। रात गहिरिँदै जाँदा व्यक्ति भित्रको विद्रोह र व्यवस्थाभित्रको हिंसात्मक शक्तिबिचको सङ्घर्षले ‘लुसिफर’ को उदय गराउँछ। नाटकले विद्रोह, अस्तित्व र सामाजिक असन्तोषलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

दुवै नाटकले फरक परिवेश र विषयवस्तु बोके पनि समाजभित्रका विश्वास, विद्रोह र परिवर्तनका प्रश्नलाई रङ्गमञ्चमार्फत दर्शकमाझ उठाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =