नेपाली जनताको आत्मनिर्णयको अधिकार अझ मजबुत हुनेगरी संविधान संशोधन होस्: दाहाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधान संशोधनको विषयलाई पारदर्शिता र राष्ट्रिय हितका आधारमा मात्र अघि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाउन खोजेको उल्लेख गर्दै संशोधन कसका लागि र कसको हितमा हुने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिए । उनले संविधानको समीक्षा १० वर्षपछि गर्ने प्रावधान संविधानमै उल्लेख रहेको स्मरण गराउँदै छलफलका लागि आफूहरू तयार रहेको पनि बताए ।
उनले संविधान संशोधनले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । लोकतन्त्र सुदृढ गर्ने, सीमान्तकृत वर्ग तथा क्षेत्रको प्रतिनिधित्व विस्तार गर्ने दिशामा संविधान संशोधन अघि बढ्नुपर्ने बताए ।
उनले भने ‘सरकारले संविधान संशोधनका लागि छलफल सुरु गर्न खोजेको हो भने दश वर्षपछि संविधानको समिक्षा संविधानमै उल्लेख छ । तर प्रस्ट हुनुपर्छ, कसका लागि संशोधन ? कसका हितमा संशोधन ? हामी छलफलका लागि तयार छौँ तर पारदर्शिताका साथ । संविधान संशोधन गरौँ तर त्यो संशोधनले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकार अझ मजबुत होस् । संविधान संशोधन गरौँ तर त्यो संशोधनले लोकतन्त्र अझ मजबुत होस् । संविधान संशोधन गरौँ जसले सीमान्त वर्ग, र क्षेत्रको प्रतिनिधित्व अझ बिस्तार गरोस् । संविधान संशोधन एकदमै संवेदनशील विषय हो । यसले ठुलो विवेक, संयम र छलफल माग गर्छ । कृपया यसलाई हलुका रूपमा नलिनुहोला ।’
उनले संविधान संशोधनको विषयलाई हलुका रूपमा नलिन समेत सरकारलाई चेतावनी दिए ।








