पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार, पार्किङ शुल्क व्यवस्थापन तथा बन्द र जीर्ण अवस्थामा रहेका उद्योहरुको सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न भण्डारण क्षमता वृद्धि अपरिहार्य रहेको बताए । उनले भण्डारण संरचना अभावकै कारण बेला–बेलामा आपूर्तिमा समस्या देखिने गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भारतको बिहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म विस्तार गरिएको पाइपलाइनले नेपाललाई थप सहजता प्रदान गर्ने भन्दै सुदूरपश्चिमको कञ्चनपुरमा भण्डारण संरचना निर्माण गरिनुपर्नेमा उनको जोड छ ।

उनले भने ‘हामीले जबसम्म पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सक्दैनौँ तबसम्म पेट्रोलियम पदार्थ आपूर्तिको समस्या रहिरहन्छ । नेपालमा पनि पेट्रोलियम पदार्थको स्टोरेज क्षमता निर्माण गर्ने कार्य जारी छ । बिहारको मोतिहारीदेखि अम्लेशगन्जसम्म पाइपलाइन विस्तार गरिएको छ । त्यहाँमार्फत बिस्तारै नेपालमा समेत पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना रहेको छ । त्यसको लागि भारतको उत्तराखण्डको हल्द्वानीदेखि सबैभन्दा नजिक सुदूरपश्चिमको महेन्द्र पर्दछ । त्यहाँ निर्माण गर्दा सजिलो होला ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा कार्कीले व्यावसायिक क्षेत्रमा अव्यवस्थित पार्किङ शुल्कले सर्वसाधारण मारमा परेको बताइन् । उनले सेवाग्राहीले पसल तथा बैंकबाट सेवा लिँदा पनि चर्को पार्किङ शुल्क तिर्नुपर्ने अवस्था रहेको भन्दै निश्चित समयसम्म निःशुल्क पार्किङको व्यवस्था गर्न माग गरिन् । तोकिएको समयसीमा नाघेपछि मात्रै अतिरिक्त शुल्क वा जरिवाना लिन सकिने व्यवस्था गर्न सुझाव दिँदै बैंक तथा व्यावसायिक प्रतिष्ठानले सेवाग्राहीका लागि निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउनुपर्ने बताइन् ।

उनले भनिन् ‘हामी सबैले भोगिरहेको समस्या पार्किङको समस्या हो । कुनैपनि व्यवसायीको मा आउने सेवाग्राहीहरूलाई पार्किङको व्यवस्था गर्नुपर्छ । व्यवसायीहरूको मा त हामी उहाँहरूको समान किन्न भइरहेका छौँ नि । तर हामीले त्यहाँ गाडी पार्किङ गर्दाखेरि घण्टाको ८० रुपैयाँ बुझाउँछौँ । उहाँहरूकै समान पनि हामीले किन्नुपर्ने अनि पार्किङ शुल्क पनि तिर्नुपर्ने रु पार्किङका सन्दर्भमा निश्चित समयसीमा राख्ने अनि समयसीमाभन्दा बढी पार्किङ गर्यो भने पेनाल्टी स्वरूप पैसा उठाउने व्यवस्था गरियो भने राम्रो हुन्छ । बैंकहरुले पनि सेवाग्राहीहरूलाई निःशुल्क पार्किङको व्यवस्था गर्नुपर्छ रे ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले देशभरका पुराना उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल स्थलगत अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले उदयपुर सिमेन्ट उद्योगको अवस्था समेत चिन्ताजनक रहेको उल्लेख गर्दै स्थलगत अनुगमन गर्न समितिसमक्ष माग गरे ।

उनले जीर्ण र बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालन गर्न सरकारको ध्यानाकर्षण समेत गराए । सांसद तामाङले उदयपुर क्षेत्रमा टिप्पर सञ्चालनका कारण स्थानीयवासी धुलो र प्रदूषणबाट प्रताडित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘देशका सबै पुराना उद्योगहरू बन्द वा बन्द हुने अवस्थामा छन् । त्यससँगै उदयपुरको गैँडा सिमेन्ट त्यसको हालत पनि त्यस्तै छ । देशभर जतिपनि बन्द भएका वा बन्द हुन लागेका उद्योगहरू छन् । ती उद्योगहरूको अनुगमन यथाशीघ्र गनुपर्ने आवश्यकता छ । हामीले समितिका बैठकहरू बन्द कोठामा भन्दा पनि समस्या भएको फिल्डमा गएर पहिचान गर्न सकिन्छ । उदयपुरका विभिन्न समस्यामध्ये टिप्पर आतंकको समस्या रहेको छ । यो समस्या समाधानका लागि समितिले अनुगमन गर्नुपर्छ । २ हजारभन्दा बढी टिप्परहरु मेरो घर वरिपरिबाट चल्ने गर्छन् । धुलोको कारण बिदाको दिनमा घरमा बसेर खाना खानसक्ने अवस्था पनि छैन । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बैठकमा बोल्न अधिकांश सांसदहरूले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन वैकल्पिक विकल्पको खोजी गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =