सीमित समूहले पुँजी बजार कब्जा गरेर जनताको १५–१६ अर्ब दुरुपयोग गरे: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको अर्बौं रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको प्रभाव र कब्जामा पुगेको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए ।
अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । उनले स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिँदै पुँजी बजार सुधारका लागि सरकारले व्यापक तयारी गरिरहेको बताए ।
उनका अनुसार राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा पुँजी बजारप्रति उदार नीति घोषणा भइसकेको छ भने आगामी बजेटमार्फत त्यसलाई थप ठोस आकार दिइनेछ ।
वाग्लेले केही समूहले ‘मार्केट म्यानिपुलेसन’ र ‘इन्साइडर ट्रेडिङ’मार्फत जनताको १५–१६ अर्ब रुपैयाँ अपचलन गरेर राजनीतिक नेतृत्व र आर्थिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको टिप्पणी गरे ।
‘केही प्रभावशाली नेताहरूलाई समेत आफ्नो प्रभावमा राखेर आर्थिक संस्थाहरू कब्जा गरिएको अवस्था थियो,’ उनले भने ।
उनले ‘जेन–जी आन्दोलन’लाई परिवर्तनको महत्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गरे ।








