एसइई नतिजा छिटो सार्वजनिक गरेकोमा सरकारलाई गगन थापाको धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिएका छन् ।
यस वर्ष एसइईको परीक्षाफल परीक्षा सम्पन्न भएको एक महिनामै सार्वजनिक गरिएको थियो । विगतका वर्षहरूमा भने नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । एसइईको नतिजा सोमबार सार्वजनिक भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले परीक्षामा सफल भएका विद्यार्थीहरूलाई बधाई दिएका छन् । साथै अपेक्षित ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गरेका छन् । ‘आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो,’ उनले उल्लेख गरेका छन् ।
थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई समन्वय गर्न पनि आग्रह गरेका छन् ।
उनले एसइई नतिजा समयमै सार्वजनिक गर्न योगदान पुर्याउने सरकार, सम्बन्धित निकाय तथा संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गरेका छन् ।








