सुकुम्बासीमाथि सरकारले निर्दयी व्यवहार देखायोः जनमोर्चा

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले वर्षायाम नजिकिँदै गर्दा उचित व्यवस्थापन नगरी सुकुम्बासीलाई बसोबास क्षेत्रबाट हटाउनु अमानवीय र निर्दयी कदम भएको बताए ।
उनका अनुसार सरकारले जनताको पीडा बुझ्न नसकेको देखिएको छ । उनले सुकुम्बासीलाई व्यवस्थित नगरी बेदखल गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गरे ।
विश्वकर्माले सरकारले ल्याएका संवैधानिक परिषद्सम्बन्धी लगायतका अध्यादेशहरू फिर्ता लिन पनि माग गरे । उनका अनुसार सरकारले संसद बोलाएर स्थगित गरी अध्यादेश ल्याउनु गलत अभ्यास हो ।
उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा ६ सदस्यीय समितिमा ३ जनाको निर्णयलाई बहुमत मान्ने व्यवस्था लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताए । बहुमतका लागि कम्तीमा ५१ प्रतिशत आवश्यक हुने उनको तर्क थियो ।
उनले भने, “यी अध्यादेशहरू जनताको हितमा छैनन्, संविधानको मर्मसँग मेल खाँदैनन्, त्यसैले सरकार तत्काल फिर्ता लिनुपर्छ ।”
सांसद विश्वकर्माले विद्यार्थी संगठन, ट्रेड युनियन तथा पेशागत संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई असंवैधानिक र लोकतन्त्रविरोधी कदम भने ।
उनका अनुसार लोकतान्त्रिक मुलुकमा नागरिकलाई संगठित हुने अधिकार सुनिश्चित हुनुपर्छ । उनले सरकारको गतिविधि अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै सुधार नभए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
साथै, उनले दलित समुदायमाथि दमनका घटना बढिरहेको भन्दै सरकारको प्रतिबद्धता व्यवहारमा नदेखिएको टिप्पणी पनि गरे ।








