कृषि मन्त्रालयको आश्वासन- सरकारले कृषि अनुसन्धानका लागि बजेटको अभाव हुन दिँदैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका छन् ।

कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला उनले सो क्षेत्रका लागि सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शुक्रवार ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले सरकारले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।

कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो । उनले बजेटको अभावमा रहेको कृषि अनुसन्धान सम्बन्धी कार्यक्रमलाई सरकारले कुनैपनि बेला बजेटको आवश्यक व्यवस्था मिलाउन सक्ने पनि बताए ।

सचिव मिश्रले भने ‘रिक्त दरबन्दीहरू यो वर्षबाट सुरु हुन थालेका छन् । विनियम आएको छ । पुनर्संरचनाको काम सुरु भएको छ । ऐन संशोधनका लागि कार्यदल गठन भएको छ । र नेपाल सरकारले कृषि अनुसन्धानलाई असाध्यै प्राथमिकतामा राखेको छ । अहिले पनि लगानीको पार्ट अलिकम भएको भन्ने कुरा आएको छ । यसमा लगानी कम भएको छैन । हाम्रो तयारी कम भएको हो कि भन्ने महसुस हुन्छ । यदि हाम्रो अन्फन्डेट राम्रा प्रोजेक्टहरू छन् भने अहिले पनि नेपाल सरकार कृषि मन्त्रालयको तर्फबाट के इसूयर गर्न चाहन्छ भने आजकै दिनमा पनि हामी फण्ड दिन तयार छौ । तर हाम्रो तयारी नपुगेको अवस्थामा बजेट एलोकेशन गर्न पनि गाह्रो हुन्छ । त्यसैले तयारी गरौँ । अनुसन्धानलाई ड्राइभ गरौँ । अनुसन्धान कार्यक्रमका लागि बजेट अभाव हुन दिइनेछैन ।’

सचिव मिश्रले सरकारले कृषि मन्त्रालय अन्तर्गतका रिक्त दरबन्दी पूर्ति हुनेगरी नीतिगत, कानुनी रूपमा आफ्ना कार्यहरू अघि बढाएकाले जनशक्ति अभावको अवस्था आउन नदिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =