अञ्जन श्रेष्ठको कार्यकालमा महासङ्घको नयाँ रणनीति : ‘छ स्तम्भ, साठी पहल’
महासङ्घले “छ स्तम्भ, साठी पहल” अन्तर्गत प्रत्येक कार्यक्रमको कार्यान्वयन समय सीमा, जिम्मेवारी तथा अपेक्षित उपलब्धिसहित विस्तृत कार्य योजना तयार गरिएको जनाएको छ।

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले नव निर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ को नेतृत्वमा निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै “छ स्तम्भ, साठी पहल” कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।
महासङ्घको ६०औँ वार्षिक साधारण सभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त रणनीतिक कार्यक्रम तथा विस्तृत कार्य योजना चरणबद्ध रूपमा लागू गरिने महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार कार्यक्रममार्फत निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। यसअन्तर्गत सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल सदस्यता पोर्टल, मोबाइल एप, नीति संवाद, कानुन डेस्क स्थापना, आर्थिक अनुसन्धान शाखा सञ्चालन, निर्यात प्रवर्द्धन, स्टार्टअप तथा युवा उद्यमशीलता प्रोत्साहन लगायतका योजना अघि सारिएका छन्।
त्यस्तै औद्योगिक प्रतिस्पर्धात्मकता वृद्धि, विशेष आर्थिक क्षेत्र (SEZ) प्रभावकारी बनाउने पहल, आयात प्रतिस्थापन, प्रविधि प्रयोग विस्तार, वैदेशिक लगानी सहजीकरण तथा अन्तर्राष्ट्रिय साझेदारी सञ्जाल निर्माणलाई पनि प्राथमिकतामा राखिएको महासङ्घले जनाएको छ।
कार्यक्रममा श्रम, सीप र उत्पादकत्व सुधारलाई समेत समेटिएको छ। महासङ्घले राष्ट्रिय स्तरको ‘स्किल एकेडेमी’ स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन, श्रम ऐन कार्यान्वयन सुधार, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि सीप हस्तान्तरण तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
निजी क्षेत्र संरक्षणतर्फ व्यवसाय गर्ने सहजता सुधार, व्यावसायिक उत्पीडन निगरानी संयन्त्र, दामासाही तथा करार कार्यान्वयन सुधार, निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र निर्माण लगायतका पहल पनि समावेश गरिएको छ।
महासङ्घले “छ स्तम्भ, साठी पहल” अन्तर्गत प्रत्येक कार्यक्रमको कार्यान्वयन समय सीमा, जिम्मेवारी तथा अपेक्षित उपलब्धिसहित विस्तृत कार्य योजना तयार गरिएको जनाएको छ।








