तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने

काठमाडौं । तीन चरणको सिरिजसहित नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६ आगामी वैशाख २६ गते भक्तपुरमा हुने भएको छ ।

एथलेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहकार्यमा कुल ६ विधामा प्रतियोगिता नेपाल रन च्यालेन्ज हुने भएको हो । पहिलो प्रतियोगिता भएको दुई महिनाको अन्तरमा सिरिज हुने भएको छ ।

एथलेटिक्स परिवार नेपालले बुधवार पत्रकार सम्मेलनमा आयोजना गर्दै नेपाल रन पाँच किलोमिटर च्यालेन्जबारे जानकारी दिएको हो । श्रृंखलाबद्ध (तीन प्रतियोगिता) रूपमा सञ्चालन हुने यस प्रतियोगितामा खेलाडीहरूले प्रत्येक चरणमा अंक प्राप्त गर्नेछन् ।

अन्तिम ‘ग्राण्ड’ प्रतिष्पर्धामा उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टेखोला चोक, घट्टेखोला, पनौती टोल, कुण्डलटार चोक हुँदै पुनः नगरपालिका परिसरमै समाप्त हुनेछ ।

प्रतियोगितामा खुला महिला तथा पुरुष, ४५ वर्षमाथिका पुरुष भेट्रान, ३५ वर्षमाथिका महिला भेट्रान र १८ वर्षमुनिका महिला र पुरुष गरी ६ विधामा प्रतिष्पर्धा हुनेछ । खुला तथा भेट्रानतर्फ पाँच किलोमिटर र युवामा तीन किलोमिटर दूरीमा दौड हुनेछ । प्रतियोगितामा करिब दुई सय ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

खुला महिला तथा पुरुष ५ किलोमिटरतर्फ पहिलोले १२ हजार, दोस्रोले आठ हजार, तेस्रोले चार हजार, चौथोले दुई हजार र पाँचौंले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, ४५ वर्षमाथिका पुरुष भेट्रानतर्फ प्रथमले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ३ हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् भने छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

१८ वर्षमुनिका ३ किलोमिटर दौडतर्फ प्रथम हुनेले ६ हजार, दोस्रोले ४ हजार, तेस्रोले तीन हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही १ हजार रुपैयाँ दिइने आयोजनकले उल्लेख ग¥यो । ३५ वर्षमाथिका महिला भेट्रानतर्फ पहिलोले सात हजार, दोस्रोले ४ हजार, तेस्रोले २ हजार, चौथोले १ हजार ५ सय र पाँचौँले १ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट सात लाख ६६ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । विजेताहरूले पदक पनि पाउनेछन् । एथलेटिक्स खेलप्रति जनचासो बढाउने, नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने र खेलाडीहरूको क्षमताविकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =