सम्पती सिर्जना र कानूनी सुधारमार्फत आर्थिक विकासमा लाग्न निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् ।
आर्थिक स्थायित्वको यो अवस्था विरलै प्राप्त हुने उल्लेख गर्दै उनले यस अवसरलाई पूँजी निर्माण र उत्पादन वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष पाण्डेले समाजमा ‘आय आर्जन’ भन्दा पनि ‘सम्पती सिर्जना’ को अवधारणालाई फरक ढङ्गले हेरिनुपर्ने बताए ।
नेपालमा निजी क्षेत्रको कुल स्थिर पूँजी निर्माण घट्दो क्रममा रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सम्पती सिर्जनालाई प्रोत्साहन र सम्मान गर्ने सामाजिक वातावरण निर्माण गर्न आवश्यक रहेको औंल्याए । सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ लाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
विकसित मुलुकहरूले अवलम्वन गरेको औद्योगिक विकास रणनीतिलाई नेपालले पनि पछ्याउनुपर्ने धारणा राख्दै उहाँले पुराना कानूनी अड्चनहरू हटाउनुपर्ने माग गरे । कर्पोरेट कानूनहरूको ‘वि–अपराधीकरण’ र ‘एन्टिसिपेटरी बेल’ को व्यवस्था हुनुपर्ने उनको तर्क छ । यस सन्दर्भमा भारतले ‘जन विश्वास बिल’ मार्फत धेरै ऐनका कसुरहरूलाई परिमार्जन गरेको उदाहरण दिँदै उनले नेपालमा पनि लगानी विस्तारका लागि कानुनी सहजता आवश्यक रहेको बताए ।
यसैबीच, परिसंघले नेपाली अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पुर्याउने लक्ष्यसहितको विस्तृत मार्गचित्र (रोडम्याप) तयार पारिरहेको जानकारी दिएको छ ।
उक्त मार्गचित्रअनुसार वार्षिक ६.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गर्न सके सन् २०३० सम्ममा नेपालको अर्थतन्त्र (नोमिनल जीडीपी) १०० बिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
परिसंघको लक्ष्यअनुसार सन् २०३९ सम्ममा वास्तविक टर्ममा १०० बिलियन डलरको अर्थतन्त्र, सन् २०४६ सम्ममा नेपाललाई उच्च मध्यम आय भएको मुलुक बनाउने र सन् २०५० सम्ममा १९१ बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने सोच राखिएको छ ।
यसका लागि आवश्यक कानुनी प्रावधान र थप लगानीको खाका समेटिएको विस्तृत कार्ययोजना निकट भविष्यमै सार्वजनिक गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।








